कुटपिटका घाईते काठमाडौ ल्याईयो
दाङ, १५ असार । अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते भएका छन् । गम्भीर घाइते एकजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ खनदहमा एमाले कार्यकर्ताहरुको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण खनाल गम्भीर घाइते भएका छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर रातारात काठमाडौं ल्याइएको हो । उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।
मतदानको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच विवाद बढेपछि आक्रमण भएको हो । जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यसैगरी दाङको लमही नगरपालिकामा पनि एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका एक कार्यकर्ता घाइते भएका छन् । गएराति साढे ९ बजे लमही नगरपालिका ७ कमानपुरमा एमाले कार्यकर्ताको आक्रमणबाट स्थानीय सुवास चौधरी घाइते भएका हुन् । उनको लमहीमै उपचार भइरहेको छ ।