भक्तपुरमा आकांक्षी धेरै भएपछि पार्टीहरुलाई उमेदवार छान्न गाह्रो
भक्तपुर, चैत गते । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा भक्तपुरमा क्रियाशिल मुख्य राजनीतिक दलमा उमेदवारीको आकांक्षी धेरै भएपछि पार्टीहरुलाई उमेदवारको व्यवस्थापन गर्न हम्मे हम्मे भएको छ । खास गरी नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी, नेकपा (माओवादी) केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीमा उमेदवारीको आकांक्षी धेरै भएपछि पार्टीलाई उमेदवार छान्न गाह्रो भएको हो ।
सबै राजनीतिक पार्टीमा स्थानीय वडा कमिटिले उमेदवारको सिफारिस गर्ने र सम्बन्धि नगरपालिका हुँदै जिल्ला कमिटिले स्थानीय तह निर्वाचनका उमेदवार ट्ुङ्गो लगाउने व्यवस्था छ । उक्त प्रक्रियाभित्र रहेर स्थानीय राजनीतिक दलका वडादेखि जिल्ला तहसम्मका नेताहरु स्थानीय तहको निर्वाचनमा उमेदवार दिने तयारीमा छन ।
भक्तपुरमा क्रियाशिल पाँचवटै पार्टीभित्र नगरपालिकको मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य बन्न चहाने आकांक्षीको संख्या अत्याधिक रहेको सम्बन्धि पार्टीका जिल्ला नेताहरुले जानकारी जनाएका छन ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिका सभापति दुलर्भ थापा पार्टीमा मेयर, उपमेयर र वडाध्यक्ष र सदस्य पदका लागि उमेदवार बन्न चहानेको संख्या अत्याधिक भएको बताए । उक्त आकांक्षी भित्रका योग्य, सक्षम र जुजारु व्यक्तिलाई पार्टी उचित मूल्याकङ्न गरी टिकट दिने उनको भनाइ छ ।
त्यस्तै नेकपा (एमाले) जिल्ला कमिटि भक्तपुरका उपाध्यक्ष बचन देउजा निर्वाचनका लागि उमेदवार बन्न चहाने पार्टी कार्यकर्ताको संख्या अत्याधिक भए पनि पार्टीले उमेदवारको व्यवस्थापन गर्ने दाबी गर्छन् । उनले भने उमेदवारको आकांक्षी धेरै छन, त्यसमध्ये एउटा पदमा एकजना उमेदवार हुने भएकाले पार्टीले हाम्रो भन्दा पनि राम्रा व्यक्तिलाई उमेदवार बनाउने उनी बताउँछन् ।
नेपाल मजदुर किसान पार्टी जिल्ला कमिटिका अध्यक्ष रमेश थापा श्रेष्ठ आफ्नो पार्टी निर्वाचनमा होमिसकेको भन्दै कार्यकर्ता जागरण अभियानमा पार्टी लागेको जानकारी दिए । उनले उमेदवारका आकांक्षी धेरै भएकाले कसलाई स्थानीय तहको निर्वाचनमा उमेदवार बनाउने भन्ने बारेमा पार्टीले विभिन्न चरणमा सरोकारवालासँग अन्तक्रिर्या अभियान सञ्चालन गरिरहेको बताए । उनले भने उमेदवार चयनका बिषयमा पार्टीको निर्णय नै आधिकारीक रहने बताए ।
नेकपा (माओवादी केन्द्र) जिल्ला अध्यक्ष डिपी ढकाले उमेदवारको सफल र सक्षम ब्यक्तिलाई नै टिकट दिने बताए । उनले भने पार्टी प्रति जिम्मेवार र नागरिकसँग सवल सम्बन्ध भएको ब्यक्तिले टिकट पाउने बताए ।
राप्रपाका केन्द्रीय सदस्य रबीन्द्रप्रताप शाहले आकांक्षीको मागलाई ध्यानमा राखी आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा राम्रा र योग्य व्यक्तिलाई उमेदवार बनाउने गरी काम गरिरहेको बताए । पार्टीभित्रका सबै आकांक्षीलाई उचित सम्मान गर्दै उपयुक्त पदमा टिकट दिने गरी अहिले पार्टी काम गरिरहेको उनको भनाइ छ ।
स्थानीय शासन विज्ञ डा. श्याम भुर्तेल १९ वर्षपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि स्थानीय तहको निर्वाचनमा आकांक्षीको संख्या धेरै भएको बताउँछन् । उनका अनुसार अब संविधान अनुसार स्थानीय तहमा नै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका भएकाले पनि उमेदवार बन्ने आकंक्षी धेरै भएका हुन ।
यस्तै अबको स्थानीय जनप्रतिनिधिले संविधानको अनुसूची ८ मा भएका २२ वटा अधिकारको प्रयोग गर्ने अवसर पाउने पाउने हुँदा पार्टी भित्र स्थानीय तहको निर्वाचित जनप्रतिनिधि बन्न उमेदवारको होडबाजी चलेको हो । यो सकारात्मक पक्ष भएको भन्दै भुर्तेलले भने पार्टीभित्र उमेदवारको आकांक्षी धेरै भएपछि राम्रा र योग्य व्यक्तिले टिकट पाउने र त्यस्ता व्यक्ति निर्वाचित हुँदा जनताले दुःख पाउँदैनन् ।
स्थानीय तहको पुनःसंरचनासँगै भक्तपुरमा चारवटा नगरपालिकामा गरी ३८ वटा वडा कायम गरिएको छ । जसमा सूर्यविनायकमा र भक्तपुर नगरपालिकामा १०÷१० र मध्यपुरथिमी र चाँगुमा ९÷९ वटा वडा रहेकाछन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसारमा भक्तपुर जिल्लाभरी कूल एक लाख ६१ हजार ५२९ मतदाता रहेकाछन् ।