विश्व स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदै
काठमाडौं, २५ चैत । हरेक वर्ष अप्रील ७ तारिखमा मनाइने विश्व स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । डब्लु.एच.ओ. आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा आज विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
यस वर्ष विश्व स्वास्थ्य संगठनले डिप्रेसन : लेट्स टक अर्थात् डिप्रेसनबारे खुलेर कुरा गरौं भन्ने नाराका साथ दिवस मनाउँदै छ । यो नारालाई वार्षिक अभियानकै रुपमा अगाडि बढाइएको छ । डिप्रेसनबाट पीडित मानिसले विश्वव्यापी रुपमा सहयोग खोजून् र पाऊन् भन्ने अभियानको उद्देश्य हो ।
डिप्रेसन हाल विश्वमै समस्याको रुपमा देखिएको छ । डब्लुएचओको तथ्यांक अनुसार, विश्वमा करिब तीन करोड मानिस डिप्रेसनबाट पीडित छन् । सन् २००५ यता दश वर्षको अवधिमा डिप्रेसनका बिरामीको संख्यामा १८ प्रतिशतले बढेको पाइएको छ ।
तथ्यांकले कतिसम्म भयावह तस्वीर देखाउँछ भने, विश्वमा १५ वर्ष देखि २९ वर्ष उमेरका मानिसको मृत्युको प्रमुख कारण डिप्रेसनकै कारण हुने आत्महत्या भएको देखिएको छ ।