दुर्गा भवानीको पुजा गरि चैते दशैं मनाईदै
काठमाडौं, २२ चैत । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ ।
असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् ।
असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैंका रुपमा मनाईदै आएको छ ।
आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ ।
यस अवसरमा काठमाडौ सहित बिभिन्न ठाउँका शक्तिपीठ तथा मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरु पुजा पाठ गरिरहेका छन् ।
चैते दशैंको अवसर पारेर आज भगवतीका मन्दिरहरुमा पूजापाठका साथ पशुबलि चढाउने चलन छ ।
असोजको बडादसैंजस्तो यो बेलामा जमरा भने चैते दशैंमा प्रयोग हुँदैन ।