जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
बर्दिया, २५ फागुन । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीको आक्रमणमा परि बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई नगरपालिका–३ कर्मलाका १८ वर्षका विजय नेपाली (अर्जुन) रहेको प्रहरीले जनाएको छ ।
हिजो राति निकुञ्जबाट कर्मला गाउँ पसेको जंगली हात्ती धपाउन घर बाहिर निस्किएका बेला नेपालीलाई हात्तीले कुल्चिएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
हात्तीको आक्रमणबाट नेपालीको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्गको भुरीगाउँमा सडक अवरुद्ध गराएका छन् । निकुञ्जले जनधनको सुरक्षा गर्नुपर्ने माग गर्दै शव समेत बुझ्न मानेका छैनन् ।
बर्दिया निकुञ्जबाट निस्किने जंगली हात्तीले केही दिन यता निकुञ्ज आसपास क्षेत्रका बबई नगरपालिका, सूर्यपटुवा, ठाकुरद्घारा लगाएतका गाँउमा अन्नवाली नोक्सान र घरगोठ भत्काएर आतंक मच्चाउदै आएको छ ।