भक्तपुर बचतबाट स्वास्थ्यमूलक अभिमुखीकरण
भक्तपुर, १६ माघ । विभिन्न समयमा अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउने क्रममा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा बागीश्वरी मा.वि.मा मुटुरोग, चिनीरोग, ब्लडप्रेसर तथा थाइराइडसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
गौतम बुद्ध इन्टरनेशनल कार्डिनल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रमका प्रशिक्षक डा. विकास सुवेदीले यी चारैवटा रोग हाम्रो मृत्युवरण गर्ने रोग भएकाले समयमै यसबारे जानकारी लिई सचेत हुनुपर्ने बताए । उनले पृथ्वीलोकमा विभिन्न खालका जनावरहरु रहेजस्तै हाम्रो शरीरमा पनि विभिन्न थरिका देखिने नदेखिने किटाणुहरु रहने भएकाले मानव जीवन संघर्षशील रहेको र मृत्युलाई अलि पर धकेल्न स्वस्थ रहनुपर्ने बताए ।
प्रशिक्षक डा.सुवेदीले थाइराइड हाइपर थाइराइड र हाइपो थाइरायड गरी दुई प्रकारको हुने र आयोडिनको कमी हुँदा हाइपो र बृद्धिले हाइपर थाइराइड हुने भएकाले सोही अनुसार लक्षण देखिएका विरामीले खानपानमा ध्यानदिनुपर्ने बताए ।
त्यस्तै उच्च रक्तचाप, चिनीरोग र मुटुरोगको बारेमा स्पष्ट पार्दै प्रत्येक मान्छेको जीवनमा यसले ठूलो क्षति गर्ने भएकोले यसको लक्षण र समस्या समाधान तथा उपचार विधिका बारेमा बताए । उनले मुटु, टाउको र किड्नीमा प्रत्यक्ष आक्रमण गर्ने यी रोगलाई समयमै उपचार विधि नअपनाएमा त्यसले जीवन क्षति व्यहोर्नुपर्ने बताए । उनले यस्ता रोग भएकाका लागि नियमित भोजन प्रक्रिया तथा शारीरिक अभ्यास गरिरहनुपर्ने बताए । साथै उनले मुटुरोगका विशेष पाँच कारणमा उच्च रक्तचाप, मधुमेह, चिल्लोपदार्थको बढी सेवन, धुम्रपान तथा मदिरापान र तनाव बढी लिनुलाई लिएको छ । यी रोग बालबच्चा, युवा युवती, बृद्धबृद्धा सबैलाई लाग्न सक्ने भएकाले अनावश्यक भोजन तथा मादक पदार्थ लागुपदार्थको सेवन त्यागे सुखी जीवन जिउनपाउने बताए ।
कार्यक्रममा सभापतिको आसनबाट संस्थाका अध्यक्ष बलराम प्रजापतिले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिन सदस्यहरुबीच यस्तो कार्यक्रम उपलब्धीमूलक नै रहेको विचार राख्दै संस्थाले सदस्यहरुको आर्थिक सँगसँगै विभिन्न प्रकारबाट समस्या समाधानतिर लागिरहेको बताए । उपाध्यक्ष निर्मल प्रजापतिले संस्थाले आर्थिक, स्वास्थ्य, खेलकूलजस्ता विभिन्न गतिविधिहरु गरी सामाजिक दायित्व बोध गरिरहेको बताए । कार्यक्रममा युवा तथा अतिरिक्त उपसमितिका तुल्सीराम प्रजापति, गौतमबुद्ध इन्तरनेशनलका कोअर्डिनेटर गोविन्द प्रसाद बजगाईले पनि बोलेका थिए ।