राष्ट्रपतिकी छोरीको बिहेमा को को पुगे शुभकामना दिन ?
काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशा कुसुमको विवाह आज शीतल निवासमा हुँदैछ । विवाहमा सहभागी हुन तथा शुभकामना दिनका लागि विभिन्न दलका नेता, राजदूत, कुटनीतिक नियोगका प्रमुख, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्ति पुगेका छन् ।
नेकपा एमालेका नेता माधव नेपाल, कांग्रस नेता रामचन्द्र पौडेल, राप्रपाका अध्यक्ष कमल थापासहितका नेताले शीतल निवास पुगेर शुभकामना दिएका छन् । यस्तै, लोकेन्द्रबहादुर चन्द, मोदनाथ प्रश्रित, प्रदिप नेपाल, मुकुन्द नेउपाने, प्रदिप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, विष्णु रिमाल, विन्दा पाण्डे, शान्ता मानवीसहितका नेताले पनि शीतल निवास गएर बधाई तथा शुभकामना दिएका छन् ।
बेहुला बेहुलीलाई शुभकामना दिन पूर्व राजा ज्ञानेन्द्र शाह पनि शीवास गएका छन् । बा ४ च ३८०७ नम्बरको गाडीमा साढे १२ बजे शीतल निवास गएका पूर्व राजा शाह केही बेरबसेर फर्केका थिए ।
दिउँसो १२ बजेदेखि विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रमुखसहितका व्यक्ति भोजमा सहभागी भई रहेका छन् । परिवारका सदस्यलाई भने बिहान ११ बजे नै बोलाइएको थियो ।
दुुई बजेपछि विवाहको काम सुरु हुनेछ ।
पूर्व राष्ट्रपति रामवरण यादवका नाति एवं सांसद किरण यादवकी छोरा अभिशेष यादवसँग निशाको विवाह हुन लागेको हो ।