प्रेमगीत २ छायाँकन एक साता रोकिने
काठमाडौं,८ पुस । सुटिङ गाडी दुर्घटना हुँदा प्रेमगीत २ छायांकन एक साता रोकिने भएको छ। निर्माण कम्पनी आशुसेन फिल्मसले यसको पुष्टि गरेको छ। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको फार ब्रान्डको गाडी पृथ्वीराज मार्गको गल्छी नजिक विपरित दिशाबाट आएको मालवाहक ट्रकसँग ठोक्किएको थियो। गाडीमा निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठक, अभिनेताद्वय प्रदीप खड्का र कैलाश कट्वाल सवार थिए।
दुर्घटनामा निर्माता सेन र निर्देशक पाठक सामान्य घाइते छन्। दुई अभिनेता सकुशल छन् । घाइतेलाई काठमाडौंको बीएन्डबी अस्पताल ल्याइएको थियो। निर्देशक पाठकको निधारमा दुईटा टाँका लगाइएको छ। निर्माता सेनको दाहिने हातको कुहिनो फुटेको छ र चिकित्सकले प्लास्टर गरिदिएका छन्। दुर्घटनापछि सुटिङ युनिट काठमाडौं फर्किएको छ। गत सातादेखि छायांकन थालेको प्रेमगीत २ बन्जी सुटका लागि पोखरा हानिएको थियो।
नेपालसहित थाइल्यान्ड र बर्मामा समेत फिल्मांकन हुँदैछ।