आजबाट नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा अवरुद्ध हुने
काठमाडौं, ७ पुस । तराईलाई राजधानीसँग जोड्ने मुख्य नाका नारायणगढ–मुग्लिन सडक खण्ड स्तरोन्नतिका लागि आजबाट दैनिक ४ घण्टा बन्द गरिने भएको छ । सडक मर्मतका लागि आजबाट दैनिक ४ घण्टा सवारी साधन आवत–जावत रोकिन लागेको हो ।
उक्त सडकखण्डमा बिहान ११ बजेबाट ३ बजेसम्म पूर्णरुपमा सवारी साधन रोकेर निर्माण कार्यलाई तीव्रता दिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिए । सडक स्तरोन्नतिका कारण आवागमन बन्द गर्नुपरेको स्पष्ट पार्दै आयोजनाले उक्त अवधिमा सकभर वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । विभिन्न कारणले यो सडक निर्माणमा समस्या आएको भन्दै खनालले भने, दुईघण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएकाले आजबाट हरेक दिन ४ घण्टा सडक बन्द हुनेछ ।
उक्त सडकखण्ड हुदै पूर्व जाने साना गाडी काठमाडौंको बल्खु, दक्षिणकाली सडकखण्ड हुँदै हेटौंडा निस्कन सक्नेछन् भने यात्रुबाहक बस र ट्रक ट्याङकरले विपी राजमार्ग तथा बाइरोडको बाटो प्रयोग गर्न सक्नेछन् ।
काठमाडौं, भक्तपुर, बनेपा हुँदै बर्दिवास निस्कने विपी राजमार्ग र नागढुंगा नौबिसे हुँदै बाइरोडको बाटो प्रयोग गर्न सक्ने नारायणघाट मुग्लिन सडकखण्ड खनालले बताए । यस्तै पश्चिम जाने र आउने गाडीले मुग्लिनबाट पोखरा–स्याङजा–वालिङ हुँदै बुटवल निस्केर गन्तव्यमा पुग्न सक्नेछन् ।