भक्तपुरमा साझा बसको माग

भक्तपुर न्यूज

१३ मंसिर २०७३ ८:१३

भक्तपुरमा साझा बसको माग

भक्तपुर, १३ मंसिर । उपत्यका भित्रको सहर भक्तपुरमा साझा बसको आगमनको आशमा रहेका भक्तपुरबासीमा साझा बस सञ्चालन नहुँदा निराशा छाएको छ । यातायातले नयाँ खरिद गरेको अपाङ्गमैत्री बसहरु काठमाडौं उपत्यकाभित्र थप चार रुट विस्तार गरेर सञ्चालन गरेपनि भक्तपुरमा भने सञ्चालन नगरेको भन्दै भक्तपुरबासी रुष्ट बनेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले समेत यातायात सञ्चालन र ब्यवस्थापनका लागि उपत्यकाकै तीनै वटा जिल्लामा एकीकृत योजना ल्याउन लागेको प्रतिबद्धता जनाएपनि त्यो आवश्वासमा सिमित गरिएको भन्दै स्थानीयबासी रुष्ट बनेका हुन् । उनीहरुले साझा बस तत्काल सञ्चालनको माग समेत गरेका छन् । साझाले भक्तपुरका रुट तय नगरेपछि स्थानीयबासिन्दाले गुनासो गर्दै तत्काल साझा बस सञ्चालन गर्न माग गरेका हुन् । भक्तपुरमा साझा बस सञ्चालन नलाइउनु पछाडी क कसको के स्वार्थ रहेको छ भनी भक्तपुरबासी यति बेला प्रश्न गरिरहेका छन् ।
साझाले नयाँ खरिद गरी ल्याएको ३० वटा बसलाई नयाँ चार रुट विस्तार गरी यातायात ब्यवस्था विभागबाट नयाँ रुट अनुमति लिएको थियो । प्रधानमन्त्रीले आइतबार ती रुटको उद्घाटन गरेका थिए । साझाले यसअघिको पुरानो रुट विस्तार गरेर ४ वटा रुट तोकेपनि भक्तपुर रुट भने तत्कालका लागि तोकेको छैन् ।
साझाले काठमाडौ महानगरपालिकाको स्वामीत्वमा खरिद गरी ल्याएको नयाँ ३० वटा बस भक्तपुर रुटमा समेत सञ्चालन गर्न स्थानीयले माग गदै आएका थिए । साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले तत्कालका लागि साझा बस सञ्चालन भइरहेका रुटलाई नै ब्यवस्थित गरिएकाले भक्तपुर रुट नपरेको राजधानीलाई जानकारी दिए । उनले साझाले नयाँ बस थप्ने र सेवा विस्तार गर्ने क्रम जारी रहेकाले भक्तपुरमा पनि साझा बस सञ्चालन गर्ने तयारीमा रहेको बताए । हाललाई कोटेश्वरसम्म मात्र सञ्चालन गरेका छौ, उनले भने, नयाँ बस खरिद गरेपछि भक्तपुरलाई पहिलो प्राथमिकतामा राखेर रुट तय गर्नेछौ ।
भक्तपुरबासीले सार्वजनीक यातायातबाट भनेको र चाहेको समयमा पुग्न नसक्दा सास्ती खेपिरहेका छन् । त्यही सास्तीबाट मुक्ती पाउनकै लागि यहाँका बासिन्दाले विगतदेखि नै साझा बस सञ्चालनको माग राख्दै आइरहेका हुन् । स्थानीय प्रेम प्रजापति कुनै पनि हालतमा भक्तपुरमा साझा बस सञ्चालन हुुनुपर्ने बताउँछन् । साझा बस अब कसैले रोक्न सक्दैन, यो भक्तपुरबासीको माग हो, उनी भन्छन् । भक्तपुरमा साझा बस सञ्चालनको तयारी भइरहँदा यातायात ब्यवसायी साझा बस सञ्चालन गर्न नदिन सक्रिय बनेको खवरले उनलाई चिन्तित तुलाएको बताए । सेवाग्राहीलाई भरपर्दो सेवा सुविधा पनि नदिने, यातायातमा सिन्डिकेट कायम गरेर यात्रुलाई दुख दिनेलाई कारवाही हुनुपर्ने उनको माग छ । उनीजस्तै यहाँका अधिकांश सर्वसाधारणले साझा बस सञ्चालनको माग गरिरहेका छन् ।
सरकारी कार्यालयले आयोजना गर्ने विभिन्न सार्वजनीक सुनुवाई कार्यक्रममा समेत साझा बसको माग उठिरहेको छ । उनीहरुले तत्कालका लागि कमलविनायक हुँदै बसपार्कसम्म साझा बस सञ्चालन हुनुपर्ने माग गर्दै आइरहेका छन् । भक्तपुरमा मध्य उपत्यका, मिनीबस, मध्यपुर यातायात समितिले यातायात सञ्चालन गर्दै आइरहेका छन् भने ठिमीसम्म माइक्रोबस सञ्चालन भइरहेको छ ।
सूर्यबिनायक–कोटेश्वर ६ लेन सडक सञ्चालमा आएपछि बाटो फराकिलो भएसँगै साझा बस सञ्चालनमा सहज हुने स्थानीय गोकुल खड्का बताउँछन् । ६ लेन सडक अन्र्तगतको ९ दशमलव २ किलोमिटर सडकमा मात्र साझा बस सञ्चालन भए भक्तपुरबासीलाई ठूलो राहत पुग्ने उनले बताए । यातायात ब्यवसायीले भने तीन÷तीन मिनेटको अवधिमा गाडी सञ्चालन भएको दावी गरेपनि सर्वसाधारणले गाडीमा घन्टौ बस्नुपर्ने बाध्यता छ । बसस्टपमा लामो समयसम्म गाडी रोकिदा काठमाडौ पुग्न घन्टौ लाग्ने समस्या यथावत छ । भक्तपुरबासीले यातायातमा सिन्डकेट कायम हुँदा बिहान, बुलुका तथा भनेको समयमा यातायात सुविधा पाउँन नसकेको गुनासो गरिरहेका छन् । यातायात समितिले तोकेअनुसार गाडी सञ्चालनमा नआउँदा सर्वसाधरणले प्रयोग गर्ने सार्वजनीक यातायात सुरक्षित र भरपर्दो हुन सकेको छैन् । भक्तपुरमा विभिन्न समिति अन्र्तगत करिब ७ सयको हाराहारीमा सार्वजनीक गाडी सञ्चालनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *