प्रधानमन्त्रीद्वारा पूर्वी क्षेत्रका कार्यालय प्रमुखहरुलाई सामूहिक निर्देशन
बिराटनगर, २६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वी क्षेत्र र मोरङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई सामुहिक निर्देशन दिएका छन् । आज नेपाली सेनाको हेलिकोप्टरबाट बिराटनगर आई पुगेका प्रधानमन्त्रीले सामूहिक निर्देशन दिएका हुन् ।
निर्देशनमा क्रममा प्रधानमन्त्रीले भने ‘हामी विकासका दृष्टिले पछि परेका छौं । तर विकासका काममा खर्च गर्न सकिरहेका छैनौं । यो स्थितिको अन्त्य हुनुपर्छ । राष्ट्रिय गौरवका आयोजना समयभन्दा अगावै सम्पन्न गर्न म क्रियाशील छु । मैले देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्न विशेष निर्दे्शित गर्दछु ।’
प्रधानमन्त्रीले थपे, ‘प्रतिस्पर्धा गरौं । तर नराम्रोका लागि होइन, राम्रोका लागि प्रतिस्पर्धा गरौ । समयमै गुणस्तरीय काम गर्ने आयोजना र कर्मचारीलाई पुरस्कृत हुनेछ । राम्रोका लागि प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सरकार गम्भीर छ ।’
प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जानु सरकारको संकल्प रहेको भन्दै संविधान कार्यान्वयन नभएर देश राजनीतिक र संवैधानिक संकट आउन नदिन सरकार संवेदनशील रहेको बताए ।
आजको युग विकासका लागि प्रतिस्पर्धाको युग भएको भन्दै नेपालमा पनि विकास र समृद्धिमा प्रतिस्पर्धा गर्नु अनिवार्य भएकोमा प्रधानमन्त्रीले जोड दिए ।
कार्यक्रममा नेपाल सरकारका निमित्त मुख्य सचिव टंकमणि पौडेलले जनसेवालाई केन्द्रमा राखेर काम गर्न र विकास खर्चको सामथ्र्य बढाउने गरि काम गर्न निर्देशन दिए । कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणबारे प्रधानमन्त्रीलाई अवगत गराए ।