काठमाडौं । नेपाल भ्रमण वर्षको अवसर पारेर तीनदिने खोकना पर्यटन महोत्वस आयोजना हुने भएको छ ।
ललितपुर महानगरपालिका २१ र प्रदेश सरकारको आर्थिक सहयोगमा यही फागुन ९ देखि ११ गतेसम्म महोत्सव आयोजना हुने भएको हो । महोत्सवमा खोकनाको प्राचिन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना र खाजाका परिकार मुख्य आकर्षणका रूपमा रहनेछन् ।
त्यसैगरी स्थानीय जीवनशैली, रहनसहन र वेशभूषाका अतिरिक्त स्थानीय सीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने महोत्सव मूल आयोजक समिति संयोजक रवीन्द्र महर्जनले बताए ।
उपत्यकाको सहरबाट नजिकै रहेको खोकना गाउँलाई महत्त्वपूर्ण ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी पर्यटनको दिगो विकासका साथै नेपालको पर्यटन प्रवर्द्धनका लागि महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ ।
महोत्सव आयोजनाका लागि ललितपुर महानगरपालिकाको १२ लाख ५० हजार, वडा २१ को ५ लाख र प्रदेश सरकारको २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध भएको उनले बताए ।
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments