भक्तपुर । आजभोली कतिपय व्यक्तिहरू पैसा कमाउने नाममा विदेशीने बिषय नेपालीमाझ कुनै नौलो होइन । पैसा कमाउनकै लागि नेपालबाट मात्र दैनिक हजारौ बढी नेपालीहरू विदेशीने गरेको तथ्याँक देखिएको छ । यसरी नेपाली दक्ष जनशक्ति किन बिदेश पलायन बन्दैछन् भन्ने चासोको बिषय सर्वसाधारणका लागि मात्र नभएर सरकारका लागि समेत यो प्रमुख समस्या बन्दै गएको छ ।
यसरी आफ्नो देशमा गरिने मेहेनको पहिचान गर्न नसक्दा र बिदेशमा पैसाको बोटबाट पैसा टिप्न पाइने सपना बोकेर बिदेश जानु बाध्यता भएता पनि पैसा कमाउन विदेश जानु नपर्ने कुरा भक्तपुरमा सानो व्यापार गरेर बसेकाहरू बताउँछन् । सानो लगानीमा राम्रै कमाइ गर्न सकिने लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएको भक्तपुर सल्लाघारीका रामेश्वरी श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘सिप र जाँगर हुने हो भने खासै ठूलो लगानी गर्नु पर्दैन । आजभोली कतिपय व्यक्तिहरूले त एकै पटक करोडपति हुने सपना देख्न थालेकाले मात्र समस्या परेको हो ।’
आफूले आठ वर्षदेखि सल्लाघारीेमा चिया पसल सञ्चालन गरी गुजारा गर्दै आएको स्मरण गर्दै उनले आफ्नो पुरानो अनुभव सुनाउँदै भनिन्, ‘जाँगर भए स्वदेशमा नै बसेर राम्रो आम्दानी गरी घर खर्च चलाउन सकिन्छ ।’ चिया पसल सञ्चालन गर्दा आफूले पाँच हजार लगानीबाट शुरुवात गरे पनि पसलको आर्थिक वृद्धि भएर करिब दुई लाख पुगिसकेको भन्दै श्रेष्ठले अब भने काम भएन भनेर भौतारिनुपर्ने अवस्था नभएको बताइन् ।
आफू जस्तै कतिपय व्यक्तिहरू मासिक २० देखि २५ हजार रुपियाँ आम्दानी कमाउनका लागि भन्दै विदेशीने गरेको भन्दै उनले भनिन्, ‘मेहिनत, सिप र लगनशिलता भए नेपालमा नै राम्रो आम्दानी गर्न सकिन्छ ।’
यस्तै स्वदेशमा नै बसेर राम्रो आम्दानी गरी घर चलाउँदै आएकी सुन्तली धामी पनि मासिक २० देखि २५ हजार रुपियाँ कमाउनका लागि विदेश जानु नपर्ने बताउँछिन् । ‘विदेशमा गएर मात्र पैसा कमाउन सजिलो हुने होइन विदेशमा पैसा टिप्ने ठाउँ छैन किन विदेश जानु ?’ उनले भनिन्, ‘पैसा मेहिनत गर्ने हो भने स्वदेशमा नै छ तर नेपालीहरू मेहिनत गर्न नचाहँदा थोरै रकमका लागि विदेशीने गरेका छन् यो विडम्बना हो ।’
यस्तै भक्तपुरको राम मन्दिर नजिक ठेला गाडामा ब्यापार गरिरहेको कोशी पारिका एक युवा आफ्नो अनुभव सुनाउँछन्, ‘आफू पाँच बर्ष अघि ९ लाख खर्च गरेर कुक कामका लागि साउदी पुगेको तर दलालको कारणले भने जस्तो ठाउँमा काम नपाएपछि चोरी बाटो हुँदै इराक पुग्दाको क्षण जीवन कै अन्तिम क्षण जस्तो लागेको थियो । पैसो कमाउने ध्यानमा बिदेश त लागियो तर पैसोले नै अलपत्र पार्यो । जेन तेन ज्यान जोगाउँदै साथीभाईसँग पैसो मिलाएर नेपाल आईयो अनि नौ लाख पनि स्वाह पारियो ।’
‘आफूले जानेको शिप यो ठेला गाडामा प्रयोग गरियो । अहिले आनन्द छ । छोरा छोरीलाई राम्रै बोडिङ स्कुलमा पढाएको छु । चार जना कामदारलाई महिनाको बीस हजार तलब सहित खान बस्न र लत्ता कपडा उपलब्ध गराउँदै काम गरिरहेको छु ।’ आम्दानी कति हुन्छ भनि सोध्दा उनी भन्छन्, ‘खान बस्न कामदारहरुको तलब सबै कटाएर महिनाको एक डेढ लाख आनन्दले बच्छ ।’
उनी भन्छन्, ‘म जस्ता सयौं नेपाली बिदेशमा पैंसा कमाउने आशमा पुगेका हुन्छन र ठगिन्छ । तर आफ्नो देशमा सानै लगानीबाट पनि मनग्ने आम्दानी गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिँदैनन् भने सरकारले समेत युवाहरुको लागि देशमै काम गर्ने वातावरण श्रृजना नगरेकाले नेपाली युवा युवतीहरु पैसैं कमाउनका लागि बिदशीने गरेका छन् ।’
तर पनि आफ्नो देशमै सानो काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचको बिकास गर्नु पर्ने सानो लगानीका साथै परिश्रम गरिरहेकाहरु बताउँछन् ।
प्रकाशित मितिः २०७५ मंसिर २१ शुक्रबार
Comments