काठमाडौं । भगवान इन्द्रको पूजाआराधना गरी आज काठमाडौं उपत्यकामा परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै छ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई इन्द्रध्वजोत्था’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । हनुमानढोका तथा सो आसपास क्षेत्रका टोल टोलमा इन्द्रध्वजा फहराइएको छ । स्थानीय टोल टोलमा राखिएका श्वेत भैरव, काल भैरव र इन्द्रको दर्शन सर्वसाधारणलाई खुला गरिएकाले छ । जात्राका लागि वसन्तपुर दरबार तथा सो आसपास क्षेत्रमा रङरोगन गरी बेहुली झै सिँगारिएको छ ।
जात्राअन्तर्गत भैरव, भगवती, कुमार, दैत्य, कङ्काल, ख्याः, सात देवीदेवताका सात नाइकेसहितको विशेष नाच बाजागाजासहित जैसीदेवल, बाङ्गेमुढा, इन्द्रचोक, किलागःलगायत स्थानमा प्रदर्शन गरिने छ । प्रत्येक वर्ष भाद्रकृष्ण चतुर्दर्शीका दिन हुने सो कार्यक्रमअन्तर्गत गणेश, भैरव र कुमारीको रथ यात्रा गरिने कार्यक्रममा राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्रिगण, विभिन्न मुलुकका राजदूतलगायतको सहभागिता हुनेछ ।
किंवदन्ति अनुसार, स्वर्गलोकका भगवान् इन्द्र आफ्नी आमालार्इ वसुन्धरादेवीको व्रतका निम्ति आवश्यक पारीजातको फूल र कर्कलो चोर्न मानव रूप धारणगरी काठमाडौं शहरमा आएर बगैंचाको मालीलार्इ सोध्दै नसोधी चोर्न लाग्दा स्थानीयले आफ्नो तन्त्रशक्तिको प्रयोग गरी इन्द्रलाई पाता कसी बिच सडकमा बाँधेर ढालेपछिको दृश्य सहितको मूर्ति प्रदर्शन गरिएको लोककथन छ ।
काठमाडौंको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।
यसरी आफ्नो खातिर काठमाडौंवासीले बन्धनमा पारेका छोरा इन्द्रलार्इ त्यस बन्धनबाट मुक्त गराउन उनकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । यस मौसममा लाग्ने त्यही विशेष कुहिरोका कारण धानबाली समयमै हुर्किएर पाक्छ भन्ने किंवदन्ति अझै पनि जनजिब्रोमा जीवितै छ। त्यसपछि सो घटनालाई वर्षमा एक पटक स्मरण गर्न जात्रा निकाल्ने सहमति भएपछि इन्द्र डाकिनीलाई जिम्मा लगाइएको थियो ।
नेवार परम्परा अनुसार भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीुको दिन मनाइने इन्द्रध्वजोत्थानबाट प्रारम्भ भएर यँलागाः चौथीु अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासंग सम्बन्धित नाच, गान र रथयात्रा विशेषतः कुमारी, भैरव र गणेश गरेर सम्पन्न गरिने छ ।
प्रकाशित मितिः २०७५ असोज ८ सोमबार
Comments