काठमाडा २७ साउन । सरकारले बजेटमार्फत स्थानीय तहलाई केन्द्रीत गरी ल्याएका योजनाहरुलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने गरी स्थानीय तहलाई केन्द्रीत गरी ल्याएका महत्वपूर्ण योजना कार्यान्वयन गरी सरकारले स्थानीय तहमा ठूला विकासका पूर्वाधार तयार गर्न लागेको हो ।
बजेटमार्फत सरकारले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालयको स्थापना, रङ्गशाला, खेलकुद मैदान, कृषि ज्ञान केन्द्र, निजी क्षेत्रको सहकार्यमा स्थानीय तहमा उद्योग ग्रामको स्थापना, सहकारी संस्थाको पहलमा सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
त्यस्तै प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय वटा पर्यटकीय क्षेत्रको विकास, मध्य पहाड र चुरे क्षेत्रमा स्थानीय तहको सहकार्यमा वर्षातको पानी सङ्कलन गरी पोखरी निर्माण गर्ने सरकारले बजेटमा उल्लेख छ ।
उक्त योजनाहरु आवश्यक्ताको आधारमा ७५३ वटै स्थानीय तहमा सञ्चालन गरिनेछ । उक्त योजना सञ्चालन गर्नका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको स्थानीय तह समन्वय शाखा प्रमुख एवं उपसचिव डिलाराम पन्थीले सबै काम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने होइन बजेटमा उल्लेखित योजनाको प्रकृति अनुसार सम्बन्धित मन्त्रालले आवश्यक कार्यविधि निर्माण गरी काम अगाडि बढाउन लागेको बताए ।
उनका अनुसार सरकारले अहिले जिल्ला प्राविधिक कार्यालयलाई पुनःसंरचना गरी सङ्घीय सरकारको महत्वपूर्ण योजनालाई उक्त कार्यालयबाट आवश्यक समन्वय गरी कार्यान्वयन गर्ने तयारी गरेको छ । सम्बन्धित मन्त्रालयले सञ्चालन नगर्ने योजनाको लागि सम्बन्धित स्थानीय तहमा बजेट पठाइ स्थानीय तहले नै उक्त योजना सञ्चालन गर्छन् उनले भने , ‘सरकारले बजेटमार्फत ल्याएका महत्वपूर्ण योजना त्यक्तिकै अलपत्रै पर्दैन कार्यान्वयन हुन्छन् ।’
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका निर्देशक विमल पोखरेलले सरकारले बजेटमार्फत ल्याएका स्थानीय तह केन्द्रीत योजना कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने बताए । । सरकारले बजेटमार्फत स्थानीय तह केन्द्रीत गरी ल्याएका योजना स्थानीय तहको रुपान्तरण गर्ने प्रकृतिका छन् उनले भने , ‘उक्त योजनाका लागि सम्बन्धित मन्त्रालयले कुन स्थानीय तहमा योजना सञ्चालन गर्ने हो सोही गाउँपालिका वा नगरपालिकासँग आवश्यक समन्वय र सहकार्य गर्नुपर्छ ।’
यस अघिका सरकारले नीति कार्यक्रम र बजेटमार्फत स्थानीय तह लक्षित गरी ल्याएका कतिपय योजना कार्यान्वयन हुनै नसकी बजेट फ्रिज गएको स्मरण गर्दै वर्तमान सरकारले स्थानीय तह केन्द्रित गरी ल्याएका योजनाप्रति सरकारले अहिलेदेखि आवश्यक कार्यविधि र योजना बनाइ काम गर्नुपर्ने बताए । उक्त योजना सञ्चालनका लागि आवश्यक सहयोग गर्न महासंघ तयार रहेको उनले जानकारी दिए ।
सरकारले बजेटमार्फत कतिपय योजना सङ्घीय सरकारको सहकार्यमा त कतिपय योजना प्रदेश सरकारमार्फत सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।
Comments