जेठ । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।
हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।
संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको कार्यालय हाल नेकपा माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा रहने भएको छ । मदननगर बल्खुमा रहेको नेकपा एमालेको पार्टी कार्यालय भूकम्पमा क्षति पुगेपछि धुम्बाराहीमा अस्थायी रुपमा राखिएको छ । त्यसैले अहिले पार्टीको सम्पर्क कार्यालय पेरिसडाँडामा राख्ने सहमति भएको स्रोतले जानकारी दियो ।
एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।
एमाले-माओवादीले बनायो ‘हाइकमाण्ड’, कार्यालय पेरिसडाँडामा रहने
0
Share.
Comments