भक्तपुर, ५ बैशाख । आठ रात नौ दिन मनाइने भक्तपुरको बिस्केट जात्रा आज सकिदैंछ । बिस्केट जात्राको अन्तिम दिन आज गःहिटीबाट भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले सुरुका दिनमा जस्तै तानातान गरिसकेपछि टौमढीस्थित भैरव मन्दिर अगाडि ल्याएर रथ पु¥याइन्छ । रथमा रहेको बेताल र भैरबको मूल देवता झिकेर भैरब मन्दिरमा भित्राएपछि जात्रा समापन हुने प्रचलन छ । आजको दिनलाई द्यो थाँहा बिज्याइगु अर्थात देवता माथि सवार हुने भनिन्छ ।
यसैगरी, आज बिहान स्थानीय कुमाले टोलमा रहेको लिङ्गो ढालिएको छ । बिस्केट जात्राको अवसरमा हरेक चैत मसान्तमा उठाएर वैशाख ५ गते सो लिङ्गो ढाल्ने परम्पराअनुसार तान्त्रिक विधिअनुसार लिङ्गो ढालिएको हो ।
बिस्केट जात्राको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि बढ्ने, सहकाल आउने र शत्रु नाश हुने जनविश्वास रहँदै आएको यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ । भक्तपुर कुमालेटोलमा चैत मसान्तमा हात नभएको लिङ्गो उठाए पछि सोही दिन भेलुखेलमा साँझ हात भएको ५५ हात लामो विश्वध्वजासहितको लिङ्गो उठाउने परम्परा छ । हात नभएको लिङ्गो जात्रालाई स्थानीय भाषामा ल्हा मरुम्ह ल्योसिंद्यो भन्ने गरिन्छ ।
आज बिस्केट जात्राको अन्तिम दिन
0
Share.
Comments