काठमाडौ, ४ बैशाख । एकता संयोजन समितिले दुई पाटी एकताका लागि आबश्यक तयारी गरिरहेको बताएको छ । विवादित विषयहरु टुंगो लगाएर वैशाख ९ गते नै एकता घोषणा गर्ने तयारी गरिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
सोमबार माओवादी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिच २ घण्टा लामो संवाद भएपनि विवादीत विषयमा सुहमति जुटेको छैन ।
एमाले चुनावी अभियानमा जस्तै ६०र ४० को अवस्थामा पार्टी एकताको छलफल गर्ने तयारीमा रहेको छ भने माओवादी बराबरीको एजेण्डामा । अरु विषय मिले चुनाव चिन्हका बारेमा माओवादी लचक रुपमा प्रस्तुत हुने तयारीमा रहेको माओवादी नेताहरुले बताउने गरेका छन् ।
एमाले भने सुर्य चिन्ह नै हुनुपर्ने तर जनयुद्धका विषयमा लचक हुने तयारीमा छ । यस्तो अवस्थामा नमिल्ने विषय फेरी पनि संगठनात्मक र नेतृत्वकै सवाल हो । बराबरी हैसियत नभए नमान्ने माओवादी र बरबरी भए नमान्ने एमाले अडानका बिच हुने आजको बैठकले निष्कर्ष निकाल्ने सम्भावना भने न्युन रहेको एमालेका एक नेता बताउँछन् ।
बैठक मंगलबार ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिरहेको छ । एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।
Comments