काठमाडौं, ३० फागुन । तीन चौथाइभन्दा बढी मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएकी राष्ट्रपति बिद्यादेवी भण्डारीले आज ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिने छन् । । मंगलवार ७६ दशमलव २९ प्रतिशत मतसहित निर्वाचित भएकी भण्डारीले अबको पाँच वर्ष राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्न हुनेछ ।
वाम गठबन्धनसहित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको साथ पाएकी भण्डारीले कुल खसेको मतको ७६ दशमलव २९ प्रतिशत पाएकी हुन । निर्वाचन आयोगका अनुसार भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाएकी छन् भने उनीसँग प्रतिष्पर्धामा रहेकी कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाइन ।
दुई उम्मेदवारले पाएको मतबीचको मतभार अन्तर २७ हजार ५ सय ४५ रहेको छ । भण्डारीको पक्षमा ७६ प्रतिशत मत खस्दा राईको पक्षमा २२ दशमलव ७७ मत खसेको थियो भने शून्य दशमलव ९२ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । संघीय संसद्का ३ सय २६ र प्रदेशसभाका ५ सय ३६ सहित कुल ८ सय ६२ मतदाताले मतदान गरे पनि संघीय संसद्का ३ सदस्य र प्रदेशसभाका ५ सदस्यको मत बदर भएको छ ।
संघीय संसद्का २ सय ४५ र प्रदेशसभाका ४ सय १५ सांसदले भण्डारीको पक्षमा मतदान गरेका थिए भने राईले ७८ संघीय संसद र १ सय १६ प्रदेशसभा सदस्यको मत पाएकी हुन । कुल ५२ हजार ५ सय मतभार रहेको निर्वाचनमा विजयी हुनका लागि २६ हजार २ सय ५१ मतभार आवश्यक पर्ने कानुनी व्यवस्था रहेको छ ।
संघीय संसद्का पाँच र प्रदेशसभाका १३ सांसदले मतदान प्रक्रियामा भाग लिएनन् । निर्वाचन आयोगले संघीय संसद्का एक जना सांसदले दिएको मत ७९ मत बराबर कायम गरेको थियो भने प्रदेशसभाका सदस्यले दिएको मत ४८ मत बराबर कायम गरेको थियो ।
Comments