काठमाडौं, १० फागुन । महालेखा नियन्त्रक कार्यालयले सरकारलाई तिर्नुपर्ने रकम नबुझाएका १ सय १९ जनाको नाम सार्वजनिक गरेको छ । सरकारलाई बुझाउनुपर्ने राजस्व बुझाउन पटकपटक ताकेता गर्दा पनि अटेर गर्नेको नाम महालेखाले सार्वजनिक गरेको हो । पटकपटक पत्राचार र ताकेता गर्दा पनि सम्पर्कमा आउन नचाहने व्यक्ति र संस्थाको नाममा ३५ दिने सूचना जारी गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयमा सरकारी रकम तिर्न बाँकी हुनेहरूको नाम प्रकाशित भएको ३५ दिनभित्र कार्यालयमा सम्पर्क राखी आफूले तिर्नुपर्ने बक्यौता बुझाउन सूचनामा भनिएको छ ।
बक्यौता रकम नबुझाए सरकारले उनीहरूको सम्पत्ति लिलामी गरी असुलउपर गर्ने सूचनामा उल्लेख छ । महालेखाले सरकारलाई तिर्नुपर्ने विभिन्न किसिमका कर, साँवा फिर्ता तथा जरिवानाको रकम नुबझाउनेको नाम सार्वजनिक गरेको हो । सार्वजनिक नाममा उच्चपदस्थ कर्मचारीदेखि चर्चित व्यापारी तथा व्यवसायीहरू छन् । बक्यौता नतिर्नेमा तीन वटा विदेशी कम्पनीसमेत रहेको महालेखाको सूचनामा उल्लेख छ ।
कर नतिर्ने सुची१ सय १९ मध्ये करोडमाथि रकम बुझाउन बाँकी नौ जना छन् । करोडमाथि तिर्नुपर्नेमा क्यासिनो तथा होटल व्यवसायी छन् । सबैभन्दा बढी बक्यौता अन्नपूर्ण होटलका महाप्रबन्धक तप्तबहादुर विष्टको नाममा छ । उनले १२ करोड ७६ लाख ५९ हजार ९ सय ५३ रुपैयाँ सरकारलाई बुझाउनुपर्नेछ । उनलाई होटल अन्नपूर्णका महाप्रबन्धकको रूपमा सूचना जारी गरिएको छ ।
अमेरिकन कम्पनी टेक्सना रिसोर्सले पनि नेपाल सरकारलाई तिर्नुपर्ने नौ अंकको रकम बुझाएको छैन । त्यो कम्पनीबाट सरकारले ११ करोड ७३ लाख ४५ हजार ८ सय ५२ रुपैयाँ असुल गर्न बाँकी छ ।
त्यस्तै, क्यासिनो व्यवसायी तथा ह्याप्पी आवर प्रालिका अध्यक्ष गोकर्ण लामिछानेले ६ करोड १६ लाख ६० हजार रुपैयाँ तिर्नुपर्ने महालेखाको तथ्यांकमा उल्लेख छ । इएबिजी, ग्रुप युएईले २ करोड ६८ लाख ८६ हजार ३ सय ५१ रुपैयाँ, बिबिबी चाम्पियन्स ओइल कम्पनी, युएसएले १ करोड २९ लाख ३० हजार ८ सय ९८ रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ । महाराज कुमारी रमा मल्ल, प्रबन्धनिर्देशक होटल मल्ल ८ करोड १० लाख ७ हजार ५ सय ३८ रुपैयाँ बुझाउन बाँकी छ ।
आरडी टटललगायतका पाँच जना सञ्चालक रहेको नेपाल रिक्रिएसन प्रालिले १ करोड ८४ लाख ९ सय ३९ रुपैयाँ, लामा कन्स्ट्रक्सनका प्रालिका रोशनकुमार लामाले १ करोड ३ लाख ६५ हजार २ सय ८८ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । खुम्बु कन्स्ट्रक्सनका सञ्चालक पासाङ ग्याल्जेन लामा र कर्म लामाले ४ करोड ३० लाख ६० हजार ५ सय ४७ रुपैयाँ तिर्न बाँकी छ । महालेखा परीक्षकले चर्चित पात्र, संस्था र मृत्यु भएकाका व्यक्तिको नामको पनि सूची सार्वजनिक गरेको छ ।
श्री ३ पद्मशमशेरकी छोरीसमेत रकम नतिर्नेको सूचीमा परेकी छन् । त्यस्तै, सरकारी स्वामित्वमा रहेका कम्पनी र सरकारी कर्मचारी ३५ दिनभित्र रकम असुल गर्नुपर्नेमा छन् । मृत्यु भएको व्यक्तिको नाममा पनि ३५ दिनभित्र रकम नबुझाएको चलअचल सम्पत्तिबाट असुल उपर गर्ने भन्दै महालेखाले सूची सार्वजनिक गरेको हो । काठमाडौं थापाथलीका शम्भुशमशेर जबराको निधन भइसकेको छ ।
तर, उनको नाममा सरकारलाई तिर्न बाँकी ८२ हजार १ सय ५८ रुपैयाँ बुझाउन सूचनामा भनिएको छ । त्यस्तै, सचिव प्रेमबहादुर सिंह, विगतमा सरकारी स्वामित्वमा रहेको हिमाल सिमेन्ट कम्पनी लिमिटेड पनि सरकारलाई रकम नतिर्नेको सूचीमा रहेका छन् ।
Comments