काठमाडौं, ११ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणअन्तर्गत हिजो सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मतदान भएकोमा प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा ८ प्रतिशत कम मत खसेको छ ।
मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयोगले जनाएको छ । कम मतदान गर्ने जिल्ला रोल्पा भएको छ । रोल्पामा मात्रै ५५ प्रतिशतले मतदान गरेका छन् ।
३२ जिल्लाको ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४ सय ६५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । हिजो प्रदेश नम्बर १ को सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ को मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ को रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ को रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ को दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान भएको थियो ।
हेर्नुस् चुनाव सम्पन्न ३२ जिल्लामा कहाँ कति मत खस्यो ?
Comments