भक्तपुर, ११ मंसिर । भक्तपुर र काठमाडौं जिल्लाको सिमानामा रहेको मनहरा खोलाबाट बालुवा चोरी अझै नियन्त्रणमा आएको छैन। प्रहरी मिलेमतोमै उक्त खोलाको बालुवा चोरीले निरन्तरता पाएको छ। मनहरा खोलाबाट प्रहरी, प्रशासन, जिल्ला समन्वय समिति भक्तपुर र पछिल्लो समय चाँगुनारायण नगरपालिकाको सेटिङमा बालुवा चोरीले निरन्तरता पाउँदै आएको हो।
स्थानीयले प्रहरीको संरक्षणमा खोलाको बालुवा चोरी भएको आरोप लगाएपछि भक्तपुर प्रहरीले टोली परिवर्तन गरेको थियो। चाँगुनारायण नगरपालिका १ स्थित नेपाल इन्जिनियरिङ कलेजसँगै पोस्टमा रहेको प्रहरी टोली परिवर्तन गरिएको हो। स्थानीयका अनुसार पोस्टमा प्रहरी परिवर्तन भएको एक÷दुई दिन बालुवा चोरी रोकियो। तर तीन दिनपछि फेरि चोरी सुरु भएको छ।
स्थानीयले चाँगुनारायण नगरपालिकाले खानीबाट झिकेर डम्प गरिराखेको बालुवा बेच्न अनुमति दिएसँगै चोरी तीव्र बनेको आरोप लगाएका छन्। यसमा चाँगुनारायण नगरपालिका १ का सदस्य माधव न्यौपानेले समेत स्वीकार गरे। उनका अनुसार रातभर चोरेर ल्याएको बालुवा नगरपालिकाले स्वीकृति दिएको डिपोमा जम्मा गर्छन् र दिउँसो बेच्छन्।
Comments