एजेन्सी ६ जेठ । इरानमा राष्ट्रपति चुन्नको लागि शुक्रबार मतदान भएको छ । ५ करोड ६० लाख इरानी नागरिकले आफ्नो मताधिकार प्रयोग गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
राष्ट्रपतिको उम्मेदवार बन्न चाहेका १ हजार ६ सय ३६ जनाले अप्रिल २१ मा निवेदन दिएकोमा ६ जना मात्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्न योग्य मानिएका हुन् । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले नयाँ राष्ट्रपति निर्वाचनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मतदान गर्दै सम्पूर्ण इरानी जनतालाई समयमै मतदान केन्द्रमा पुगी आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गरेका थिए ।
इस्लामिक गणतन्त्र इरानमा राष्ट्रपतिको निर्वाचनलाई विशेष महत्त्व दिइन्छ र इरानी नागरिकले यो सन्देशलाई ध्यानपूर्वक लिने गर्छन् । इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा खामेनीले निर्वाचन प्रजातन्त्रको आधार भएको बताए । उनले टेलिभिजनमा बोलिरहेको समय इरानी गृहमन्त्री अब्दोलरेजा रहमानी फाजलीले देशैभर मतदान सुरु भएको घोषणा गरेका थिए ।
Comments