काठमाडौं, ९ चैत । आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ । भाषा परीक्षाका लागि आजदेखि आगामी १८ गते मध्यान्ह १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिने छ । यसवर्षदेखि अनलाइनबाटै फारम भर्नु पर्ने छ । यो प्रक्रिया नयाँ भएकाले धेरैलाई थाहा नहुन सक्छ । परिक्षा आवेदन फारम https://eoers.epsnepal.gov.np मा गएर भर्न सकिने छ ।
आवेदन फारम भर्नु पहिले २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने शाखाले जनाएको छ । भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्ने इपिएस शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।
अनलाइनमा आवेदन दिएकाको प्रवेशपत्र इमेल आइडीमा नै पठाइने भएकाले इमेल आइडी अनिवार्य हुनुपर्नेछ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने भएपछि भाषा परिक्षा सञ्चालन हुन लागेको हो ।
सन् २०१८ मा कोरियाले उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार जान पाउने छन् । परीक्षा आगामी जेठ २७ र २८ गते हुने छ । इपिएस कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ ।
परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते मात्रै तोकिने शाखाले जनाएको छ । नतिजा प्रकाशन २०७४ को असार १६ गते हुने शाखाले जनाएको छ । भाषा परीक्षामा उत्तिर्ण भएपछि सीप परीक्षामा समेत सहभागी हुन सकिनेछ ।
Comments