काठमाडौं । नेपाली समाजमा उखानै छ, ‘चिन्ताले चितामा पुर्याउँछ ।’ चिन्ता रोग नभएपनि यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिन्छ । जसले गर्दा मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ । जसले तनावपूर्ण जीवन बिताउनुपर्ने बाध्यता हुन्छ उसले सामान्य भन्दा धेरै आराम गर्नुपर्ने कुरा स्वीडेनमा गरिएको एक अध्ययनले देखाएको छ ।
यदि कुनै मानिस आफूलाई तनावपूर्ण वातावरणमा धेरै समय बिताउनुपर्छ र उसको सुत्ने समय कम छ भने उसको स्मरण शक्ति कम हुँदै जान्छ, अध्ययनले भनेको छ । त्यस्ता व्यक्ति कम्तीमा पनि चार घन्टा सुत्नैपर्ने हुन्छ, स्वीडेनको राष्ट्रिय समाचार संस्था टीटीले जनाएको छ।
निद्राको गुण बहुतै महत्वपूर्ण हुन्छ । गहिरो निद्राले शरिरमा विशेष महत्व खेल्छ र यो मानिस निदाएको एक घन्टाभित्र रहन्छ, क्रिश्चियन वेनिडिक्ट, अध्ययन टोलीका एक अनुसन्धानताले टीटीलाई बताए ।
अध्ययन विभिन्न १५ व्यक्तिमा गरिएको थियो । अध्ययनका क्रममा चार घन्टामा सुन्दा उनीहरुको स्मरण शक्ति कम देखिएको थियो भने आठ घन्टा आराम गरेपछि सोच्ने शक्तिमा वृद्धि भएको थियो ।
चिन्ताले उत्पन्न हुने थप समस्या:
डिप्रेसन निम्त्याउँछ
चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डिप्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ ।
रोग लगाउँछ
चिन्ता र तनाव लिने व्यक्तिमा उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
यौनजीवन बिगार्छ
तनाव र चिन्ताका कारण शरीरभित्र उत्पन्न हुने रसायनले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गरिदिन्छ, जसले गर्दा व्यक्ति यौनप्रति कम इच्छुक हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हार्मोन टेस्टोस्टेरोनको मात्रा कम हुन्छ ।
कपाल झर्छ
चिन्ता लिँदा शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ ।
दाँत बिगार्छ
चिन्ता बढी लिने व्यक्तिमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने देखिएको छ ।
मुटु कमजोर बनाउँछ
चिन्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टे«ेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम बढी हुन्छ ।
बूढो बनाउँछ
सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् ।
रोगप्रतिरोधी क्षमता घटाउँछ
चिन्ता लिइरहने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरोजस्ता रोग लागिरहन्छन् ।
जिनमा असर गर्छ
चिन्ता लिनाले मानिसको जिनमै बदलाव आउँछ । शरीरमा कति बोसो लाग्ने, रोगप्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले सुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ । चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडिफाइड’ हुँदै जान्छ ।
दिमागमा असर गर्छ
चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्छ ।
शरीरमा विकार बढाउँछ
चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।
जीउ दुख्छ
चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । निरन्तर चिन्ता लिने व्यक्ति जीउ दुख्ने समस्याबाट आक्रान्त हुँदै जान्छ ।
प्रकाशित मितिः २०७७ असोज ०९ शुक्रबार
Comments