काठमाडौं : आज (शनिबार)को दिन सबैको फुर्सदिलो दिन । यो दिन अफिसको काम, बिजनेस आदिबाट टाढा रहेर घरपरिवारका साथ रमालोसँग बिताउने गरिन्छ । यो दिन पारिवारिक जमघटसँगै मिठोमिठो परिकार बनाएर खाँदै रमाइलोका साथ दिन बिताइन्छ । आज हामी तपाईलाई नयाँ परिकारको बारेमा जानकारी दिँदै छौँ, जुन फुर्सदको समयमा बनाउन सकिन्छ ।
सामाग्री :
एउटा भाडोमा आधा कप सुजी, एक चौथाई कप दही, सानो चम्चाको एक चम्चा नुन, र बेकिङ पाउडर हालेर राम्रोसँग मिक्स गर्नुहोस् । यसमा अलिकती पानी मिसाएर यसको पेस्ट बनाउनुहोस् । यसपछि करिब १० मिनेट ढाकेर राख्नुहोस् ।
एउटा भाडोमा २ वटा उसुनेको आलुलाई कोरेर राख्नुहोस्, यसमा मसिनो गरी काटेको एउटा प्याज राख्नुहोस्, काटेको हरियो खुर्सानी, मसिनो गरी काटेको एउटा क्याप्सिकम, एक चम्चा गरम मसाला, एक चम्चा अमचुर पाउडर, एक चम्चा नुन, एक चम्चा रातो खुर्सानी हालेर यो सबैलाई राम्रोसँग मिक्स गर्नुहोस् ।
बनाउने विधि :
अब १० मिनेटपछि उक्त सुजीमा अलिकती पानी मिसाउनुहोस् र घोल्नुहोस् (जुन लेदो किसमको हुन्छ) । अब प्यानमा थोरै तेल राखेर तताउनुहोस् तातीसकेपछि सानो डाडुले तेलमाथि उक्त पेस्ट थोरै फैलने गरी हाल्नुहोस् । अब यसमाथिबाट तयार पारिएको आलुको मिक्स बीचमा पर्ने गरी राख्नुहोस् र आलुमाथि पुन थोरै सुजीको पेस्ट हाल्नुहोस् ।
अब यसलाई केही सेकेण्डका लागि ढाकिदिनुस् । केही सेकेण्डपछि त्यसमाथि थोरै तेल छर्कनुहोस् । जब त्यो खैरो हुन्छ वा हल्का पाक्छ त्यसलाई दोस्रो साइडमा फर्काएर सेक्नुहोस् । यसलाई दुबै तर्फ फर्काउँदै पकाउनुहोस् (रोटी पकाए जस्तै) । जब त्यो गोल्डेन ब्राउन देखिन्छ अनि पाक्यो भनेर बुज्नुहोस् ।
अब यो टेस्टी र तातो तातो आलु तावा स्याण्डविजलाई टमाटरको अचार वा चियासँग पनि खान सक्नुहुन्छ ।
Comments