काठमाडौं । सूचना प्रविधिको विकाससँगै मानिसहरुमा स्मार्ट फोन, ट्याबलेट वा कुनै अन्य मोबाइल उपकरणको प्रयोग निकै बढ्दै गएको पाइन्छ । मोबाइलको प्रयोग बढ्नुका साथै मोबाइल एप्सको विकास र प्रयोग पनि बढ्दै आएको छ । मोबाइल एप आजको संसारमा धेरै महत्त्वपूर्ण बनेका छन् । मोबाइलमा गेम, म्युजिक, डिस्नेरी अर्थात् आवश्यक सबै जानकारी मोबाइलमा भएको एपमार्फत समावेश गर्न सकिने भएको छ ।
बीबीसीका अनुसार मोबाइल फोनमा समावेश गरिएको एउटा एपले मानिसमा घातक साबित हुन सक्ने मिर्गौलासम्बन्धित रोग भएको वा नभएको पत्ता लगाउन सकिने भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न प्रकारको मिर्गौलाको चोटपटकका कारण विश्वमा प्रत्येक वर्ष झन्डै १७ लाख मानिसको ज्यान जान सक्ने हुन्छ । रोगको छिटो उपचार नगरेको खण्डमा शरीरको अन्य अङ्गलाई पनि प्रभावित तुल्याउन सक्छ ।
स्ट्रीम्स नाम दिइएको एपलाई रोयल फ्री अस्पतालले डीपमाइन्ड नामक प्रविधि फर्मसँग मिलेर बनाएको हो । स्ट्रीम्सले काममा खटिएका स्वास्थ्यकर्मीहरूलाई सरल सूचना र ग्राफहरू उपलब्ध गराउन मद्दत गर्छ । विभिन्न रक्तपरीक्षण गर्ने क्रममा मिर्गौलाले छानेर बाहिर निकाल्ने क्रीएटनिन नामक तत्त्वको परिणामको मापन गरिन्छ । साथै, रगतमा हुने अन्य समस्याको बारेमा पनि एपले तुरुन्तै जानकारी गराउँछ ।
लन्डनको रोयल फ्री अस्पतालमा गरिएको परीक्षणको क्रममा चिकित्सक तथा नर्सहरूले स्ट्रीम्स नामक मोबाइल फोन एपको सहायताले औषतमा १४ मिनेटको अन्तरालमा मिर्गौलामा समस्या भएको चेतावनीहरू प्राप्त गरेका छन् । मिर्गौलामा चोटपटकको सम्भावना बढेको बेला रक्तपरीक्षण गर्दा त्यस्ता चेतावनीहरू प्राप्त भएको हो । सामान्य अवस्थामा भने कैयौँ घण्टापछि मात्र समस्याको बारेमा पत्ता लाग्ने गर्थ्यो ।
स्ट्रीम्सको विकास भएपछि उपचार खर्च निकै घटेको र मिर्गौलाको रोग केही मिनेटमै पत्ता लाग्न थालेपछि स्वास्थ्यकर्मीहरूले यो विधिले बिरामीको जीवनरक्षामा सहयोग पुग्न सक्ने बताएका छन् । यसरी अस्पतालका बिरामीहरूको अवस्थाबारे तत्कालै सूचना पाउने विधिले गर्दा स्वास्थ्य क्षेत्रमा एकदमै ठूलो परिवर्तन हुनुका साथै तत्कालै सूचना पाउन सजिलो भएको रोयल फ्रीकी प्रमुख नर्स म्यारी एमर्सनले बताएकी छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १ बुधबार
Comments