भक्तपुर । सुतेको समयमा अक्सिजनको कमीले श्वास नलीमा अवरोध हुन गई मान्छेले निकाल्ने आवाजलाई घुरेको भनिने गरिन्छ । यदि घुर्ने समस्या छ भने त्यसले घरपरिवार तथा छरछिमेकमा निकै तनाव हुने गर्छ ।
घुर्ने समस्या भएका व्यक्तिले आफ्नै परिवारका सदस्यहरु सँगै सुत्न नमान्ने, छिमेकीहरु समेत डिस्टर्ब हुने तथा साथीभाइले गिज्याउने जस्ता समस्या झेल्नुपर्ने हुन्छ । अक्सिजनको कमी, टाउको राखेको नमिल्नु, एलर्जी, नाक सुनिनु, मोटो जिब्रो, अधिक धुमपान, मादक पदार्थ तथा नशालु पदार्थको सेवन, रातको समयमा धेरै भोजन गर्नु लगायतका घुर्नुको केही कारणहरु हुन् ।
घुर्ने समस्या हुने मानिसहरुमा पटकपटक ब्युँझिने, छटपटी गर्ने, बारम्बार पसिना आउने, निन्द्रामा बोल्ने जस्ता समस्या देखिने गर्छ । वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर आएर घुर्ने समस्या देखा पर्ने हुन्छ ।
घुर्ने समस्या भएका व्यक्तिहरुले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउने गर्नु पर्छ । सुत्ने बेलामा आफूलाई तनाव मुक्त पारेर मोटोपना घटाउने, शारीरिक कसरत गर्ने, धूमपान तथा मदिरा सेवन नगर्ने र घोप्टो परेर सुत्ने गर्नु पर्छ ।
शरीरमा पानीको कमी हुँदा पनि घुर्ने समस्या हुन सक्छ । यस कारण स्वस्थ रहन र घुर्ने समस्या अन्त्यका लागि दिनभर भरपूर पानी पिउनु पर्छ । घुर्ने समस्या हटाउनका लागि नियमित रुपमा एकै समयमा सुत्नु आवश्यक छ ।
निन्द्रा लाग्ने औषधिले हाम्रो शरीरमा नकारात्मक असर पार्छ र यसले घुर्ने समस्या पनि निम्त्याउँने गर्छ । त्यसैले हामीले सुत्न अगाडी मादक पदार्थ, निन्द्रा लाग्ने औषधि या अन्य कुनै नचाहिने औषधिको प्रयोग नगर्नु नै लाभदायिक हुने गर्छ ।
प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार
Comments