भक्तपुर । भक्तपुर नगरपालिकाले ख्वप अस्पताल निर्माण गर्ने भएको छ । भक्तपुर नगरपालिकाले शिक्षा मात्र नभएर स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखी अस्पताल निर्माण गर्ने भएको हो ।
अस्पताल निर्माणका लागि नगरपालिकाले १४ करोड रुपैयाँ बजेट छुट्याएको छ । भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा बन्न लागेको ख्वप अस्पताल भवनको डिजाइन तयार भई सकेको भक्तपुर वडा नं ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले बताएका छन् । उनले अस्पताल भवन यही वर्षभित्र बनाउन सुरु गरिने जानकारी दिएका छन् ।
नगरपालिकाबाट अहिले तीनवटा जनस्वास्थ्य केन्द्रहरु सञ्चालनमा छन् । नगरपालिकाले च्याम्हासिंह, भगवतीस्थान र व्यासीमा गरी तीन स्थानमा जनस्वास्थ्य केन्द्रहरु सञ्चालन गर्दै आएका छ । ती जनस्वास्थ्य केन्द्रहरुमा दैनिक तीन सयजनाभन्दा बढी बिरामीले स्वास्थ्य सेवा पाइरहेको तथ्याङ्ंक छ ।
२०५४ सालको स्थानीय निकाय निर्वाचनपछि सातवटा कलेजहरु सञ्चालन गर्न सफल भक्तपुर नगरपालिकाले २०७४ सालको स्थानीय निकायको निर्वाचनपछि घर घरमा नर्सिङ सेवासमेत सुरु गरेको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक १४ बुधबार
Comments