भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका ६ वटा वडाले संयुक्तरुपमा अक्सिजनसहितको ५० शैयाको आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ ।
मध्यपुर थिमिको नेपाली कांग्रेसका उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भएका वडाहरु १, २, ३, ४, ६ र ९ वडाका वडाअध्यक्षहरुको बसेको बैठकले करिव ९० लाखको लागतमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि वडाको विकास बजेट कटौती गरी प्रत्येक वडाले १५ लाख रुपैंया विनियोजन गर्ने निर्णय समेत गरेको वडा नं। १ वडाअध्यक्ष सुरज खड्काले जानकारी दिए । आइसोलेसन केन्द्र बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानको भवनमा सञ्चालन गरिनेछ ।
केन्द्रमा दक्ष जनशक्तिको समेत व्यवस्था गरिने वडाअध्यक्ष खड्काले बताए । बोडेको कृषि विकास बैंकको सोही तालिम केन्द्रमा मध्यपुर थिमि नगरपालिकाले पनि २५ शैयाको एचडीयु शैयासहितको ७५ शैयाको आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ ।
नगरको वडा नं १, २, ३, ४, ६ र ९ मा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदैं आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको खड्काले बताए । ‘वडाको भौतिक विकास भन्दा पनि वडाबासीहरुको स्वास्थ्य महत्वपूर्ण भएको र यो विषम परिस्थितीमा वडाबासीको ज्यान ठूलो भएकोले चालु आव २०७७÷०७८ को विकास बजेट रकमान्तर गरेर भएपनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णयमा पुगेका हौ,’ खड्काले भने ।
भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि कोरोना संक्रमणको हटस्पटको रुपमा रहेको छ । यहाँ दैनिक एक सयको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुँदैं आएको छ । मध्यपुर थिमिको ९ वटा वडामध्ये वडा नं। १, २, ३ र ९ मा संक्रमणको दर धेरै रहेको छ ।
Comments