काठमाडौं । गुगलको माउ कम्पनी ‘अल्फाबेट’ ले पनि ठूलो संख्यामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार कम्पनीले विश्वभरबाट १२ हजार कर्मचारी कटौती गर्न लागेको हो । कम्पनीको निर्णयबाट अमेरिकी कर्मचारीहरुमा प्रभाव पर्ने गुगलले जानकारी गराएको छ । कर्मचारी कटौतीबाट कम्पनीको इन्जिनियरिङ र उत्पादन टिमहरु सहित कर्पोरेट टिमलाई पनि असर पर्ने देखिएको छ ।
अर्को प्रविधि कम्पनी माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने घोषणा गरेको केही दिनपछि नै अल्फाबेटले पनि यस्तो निर्णय गरेको हो । माइक्रोसफ्टले पनि १० हजार कर्मचारी घटाउने निर्णय गरिसकेको छ । आर्थिक अनिश्चितताका बीच ठूला कम्पनीहरुको यस्तो निर्णयले प्रविधि क्षेत्रमा थप हलचल मच्चिएको छ ।
यता, गुगल र माइक्रोसफ्टले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेर चिनिने सफ्टवेयरको नयाँ क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । एआईको क्षेत्रमा सुरुवाती चरणमै गरिएको लगानीले भविश्यमा ठूलो अवसर प्रदान गर्नेमा यी कम्पनीहरु विश्वस्त देखिएका छन् ।
प्रकाशित मितिः २०७९ माघ ०६ शुक्रबार
Comments