भक्तपुर । भक्तपुरमा कोठा भाडा तिर्न राखेको एक लाख सत्तरी हजार चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको मन्थली घर भई हाल ललितपुरको गोदावरी नगरपालिका–६ फैडोल कोठा गरी बस्ने ३० वर्षीय राज कुमार धामी रहेकोे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुर नगरपालिका–१ सल्लाघारी चोङ्गा गणेश मोडमा दोलखा सैलुङ गाउँपालिका–८ घर भई हाल दधिकोट कोठा गरी बस्ने ३१ वर्षीय शंखर खत्रीले संचालन गरेको भिमेश्वर मःम सेन्टरमा कोठा भाडा तिर्न घर्रामा राखेको नगद एक लाख सत्तरी हजार रुपैयाँ सोही होटलमा काम गर्ने धामीले शनिबार बिहान काउन्टरको लक फोडी पैसा चोरी झ्यालको सिसा फोडी फरार रहेको छ भन्ने प्रहरी परिसर भक्तपुरमा दिएको किटानी जाहेरीको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बुधबार ललितपुरको गोदावरी नगरपालिका–६ फैडोलमा फेला पारी पक्राउ गरिएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
धामीलाई स्थानीय प्रहरीको सहयोगमा कानूनको रीत पुर्याई खानतलासी गर्दा नगद तीस हजार रुपैयाँ र सुन, चाँदीको गरगहना समेत फेला पारेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
धामीले खत्रीको मःम पसलबाट चोरी गरेको नगद रुपैयाँले वूफर सेट १ थान, चाँदीको ब्रासलेट १ थान अन्दाजी दुई तोला सुनको तिलहरी १ थान ९अन्दाजी आधी तोला र मोबाइल १ थान खरिद गरेको हुँ भन्ने प्रारम्भिक सोधपुछको क्रममा बताएको हुँदा उक्त सामान बरामद गरी आज उनलाई भक्तपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Comments