काठमाडौं । प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका धेरै भू-भागहरूमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाहेक देशका बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्बर १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
मौसमविदका अनुसार शुक्रबार राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ । अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मितिः २०७७ माघ ०२ शुक्रबार
Comments