भक्तपुर । दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ वि सं २०७० सालमा स्थापना भएको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले भक्तपुरमा दुई वर्षमा ३ वटा विवादमा काम गर्ने भएको छ ।
प्राकृतिक स्रोत जल, जमिन र जंगलसम्बन्धी बहुसरोकारवाला विवादलाई समाधान गर्दै आएको केन्द्रले भक्तपुर जिल्लामा आगामी दुई वर्षमा ३ वटा विवादहरुमा काम गर्ने भएको हो ।
देशभरमा २३ वटा जिल्लामा कार्यरत यो संस्थाले भक्तपुरमा २०७० देखि २०७५ साल असारसम्म ७ वटा वनमा देखिएको सिमा विवाद समाधान गरेको केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति मीना श्रेष्ठले जानकारी दिइन् ।
उनले आगामी दुई वर्षमा तीन वटा सूचीकृत विवादको स्थानीय तहको न्यायिक समिति र जिल्ला समन्वय समितिको सहजीकरणको आधारमा समाधानको प्रक्रिया अघि बढाइने पनि बताइन् ।
डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख प्रेम खनालले जंगलसम्बन्धी विवादमा केन्द्रले काम गर्दा डिभिजन वन कार्यालयसँग समन्वय गर्नु पर्ने बताए ।
केन्द्रका अध्यक्ष रामेश्वर बोहराले जिल्ला समन्वय समिति, नगरपालिका, वन कार्यालयलगायत सरोकारवालाहरुको स्वीकृति, सहजीकरणमा मात्रै प्राकृतिक स्रोतसम्बन्धी विवाद समाधान गर्न सकिने जानकारी दिए ।
२०७५ सालदेखि २०७७ सालमा केन्द्रले भक्तपुरमा काम नगरेको बताउँदै अबका दुई वर्षमा जिल्लाका ३ वटा विवादमा हात हाल्न लागेको उनले जानकारी दिए ।
खासगरी सरकारी जग्गा अतिक्रमण गर्ने र प्राकृतिक स्रोत उपभोग तथा प्रयोगमा देखिने समस्यालाई निराकरण गर्न तत्पर यो संस्था मेलमिलाप परिषद्मा पनि आबद्ध रहेको छ ।
प्रकाशित मितिः २०७७ मंसिर ०६ शनिबार
Comments