काठमाडौं । अविरल वर्षाका कारण नदीहरूमा पानीको सतह बढेकोले बाढी आउने खतरातर्फ सचेत गराउँदै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
हाल दुधकोशी नदी रबुवाबजार, खोटाङ बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको, खतरा तह आसपास समेत पुग्न सक्ने अनुमान गरिएको छ।
खोटाङ, ओखलढुङगा र आसपास लगायत दुधकोशी(सुनकोशी दोभानसम्मको क्षेत्रमा बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन सुझाइएको छ।
सिन्धुपाल्चोक बाह्रविसे क्षेत्रमा धेरै पानी परेसँगै भोटेकोसीमा पानीको बहाव एक्कासी बढेको जनाइएको छ। मध्यराति भोटेकोशी थुनिएर आकस्मिक फुटेको हुनसक्ने अनुमान गर्दै सिन्धुपाल्चोक र भोटेकोशी-सुनकोशी नदीको तटीय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले बारा र पर्सा जिल्लाका धेरै स्थानहरूमा सतर्कता तह भन्दा बढीको वर्षा मापन भएको र अझै वर्षा हुने भन्दै त्यस क्षेत्रका साना नदी तटीय क्षेत्रमा जोखिम हुनसक्ने भएकोले बिहान ७ बजेसम्म सतर्क रहन अनुरोध गरिएको छ।
लमजुङको बेँसिशहर, खुदीबजार र धेरै स्थानमा विगत ४ घण्टामा धेरै पानी परेको र अझै पर्ने भएकोले लमजुङ भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने र कमजोर, भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै सतर्क रहन अनुरोध गरिएको छ।
प्रकाशित मितिः २०७७ असार २५ बिहिबार
Comments