काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमण तथा त्यसबाट हुने कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा यसको कहर अझै कम हुने संकेत देखिएको छैन ।
मंगलबार एकै दिन दुई हजार भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ । मंगलबार २४ सय भन्दा बढीको मृत्यु भएसँगै कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउनेको कुल संख्या २६ हजार ४७ पुगेको हो ।
यस्तै संक्रमितको संख्या पनि ६ लाख भन्दा माथि पुगेको छ । अहिलेसम्म अमेरिकामा ६ लाख १३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्ला धेरै दिनदेखि हरेक दिन २५ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।
इपिसेन्टर न्यूयोर्कमा मंगलबार थप ७७८ जनाको मृत्यु भएसँगै राज्यमा ज्यान गुमाउनेको कुल संख्या १० हजार ८३४ पुगेको छ । यस्तै त्यहाँ संक्रमितको संख्या दुई लाख तीन हजार भन्दा बढी पुगेको छ । यस्तै न्यू जर्सीमा अहिलेसम्म २८ सय पाँच, मिसिगनमा १७ सय ६८ तथा लुजियानामा एक हजार १३ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि बढी प्रभावित भएको इटालीमा अहिलेसम्म २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो । इटालीमा कुल संक्रमितको संख्या एक लाख ६२ हजार भन्दा माथि छ ।
यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १८ हजार २५५ तथा संक्रमितको संख्या एक लाख ७४ हजार भन्दा धेरै रहेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म एक लाख ४३ हजार भन्दा बढी संक्रमित भएका छन् ।
विश्वभर हालसम्म कोभिड–१९ बाट एक लाख २६ हजार ५९६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ९७ हजार ६२० रहेको छ । अहिलेसम्म विश्वभर चार लाख ७८ हजार ४२५ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मितिः २०७६ बैशाख ३ बुधबार
Comments