काठमाडौं। काठमाडौंको पेप्सीकोलास्थित् सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोराना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने अन्य व्यक्तिहरूको पनि परीक्षण शुरू गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यहाँ बस्ने दुईजनामा संक्रमण पुष्टि भएपछि अपार्टमेन्टमा रहेका व्यक्तिहरूको परीक्षण शुरू भएको जनाएको हो। मन्त्रालयको फेसबुक पेजमा संक्रमण पुष्टि भएको औपचारिक जानकारी दिँदै एकजनामा भने अहिलेको परीक्षणबाट संक्रमण पुष्टि नभएको जनाएको छ।
मन्त्रालयले संक्रमित भएका व्यक्तिहरूसँग नजिक रहेका व्यक्तिहरूको ट्रेसिङको कामसमेत शुरू गरिएको प्रष्ट पारेको छ। ५ चैतमा बेलायतबाट आएका ८१ वर्षीया बृद्धा र उनका छोरा र बुहारीको हिजो १ वैशाखमा आरडीटी किटबाट परीक्षण गर्दा नतिजा पोजिटिभ आएको थियो।
हिजो नै उनीहरूलाई ललितपुरस्थित् पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो। थ्रोटको स्वाब नमूना संकलन गरेर पुनः टेकुस्थित राष्ट्रिय प्रयोगशालामासमेत परीक्षण गर्दा बृद्धा र उनका छोरामा संक्रमण पुष्टि भएको हो। तीनैजना ५ चैतमा आएर उक्त अपार्टमेन्टको ए ब्लकको १५ औं तलाको छैटौं प्लाटमा बसेका थिए।
प्रकाशित मितिः २०७६ बैशाख २ मंगलबार
Comments