काठमाडौँ । काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १३ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बुधबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ७७ जना, लेन उल्लंघन गर्ने १ सय ६६ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३६ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४२ जना, टिपर कारबाहीमा १८ जना, सिसिटिभीमार्फत कारबाही ७८ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ६५ जना, अनावश्यक हर्न बजाउने ६६ जना, ब्हील लकबाट १ सय १८ जना र अन्य १ हजार १ सय ४७ जना गरी जम्मा २ हजार १३ सवारी चालक रहेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा बुधबार ३६ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन् भने १६ जना सामान्य घाइते भएका छन् ।
महाशाखाका अनुसार बुधबार १६ हजार ५ सय ९४ सवारी साधनबाट १ लाख ८ हजार ९ सय ६३ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १६ हजार ३ सय ९२ सवारी साधनबाट १ लाख ७ हजार ९ सय ८५ जना यात्रु बाहिरिएका छन् ।
प्रकाशित मितिः २०७६ माघ ०९ बिहीबार
Comments