काठमाडौं । मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस भएर उपचारका लागि काठमाडौं ल्याइएका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
दामनबाट हेलिकप्टरमा ल्याइएका उनीहरुको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका उनीहरु आज बिहान बेहोस अवस्थामा भेटिएका थिए ।
नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए । मृत्यु हुनेमा दुई बालिका, दुई बालक, दुई महिला तथा दुई पुरुष छन् ।
झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेका उनीहरु निसास्सिएर बेहोस भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृत्यु हुनेमा भारतको केरला बस्ने अन्दाजी ३८ वर्षीय रन्जित कप, अन्दाजी ३४ वर्षीया ईन्द्र, अन्दाजी ३७ वर्षीय प्रबिण, अन्दाजी ३२ वर्षीया सरिया, अन्दाजी ५ वर्षीय अभी, अन्दाजी ७ वर्षीया अर्चना, अन्दाजी ५ वर्षीय बैशनव र अन्दाजी ७ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।
प्रकाशित मितिः २०७६ माघ ७ मंगलबार
Comments