काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आएकी छन्। राजकुमारी एस्ट्रिड एक हप्ताको लागि आइतबार अपरान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएकी हुन्। उनी माघ ११ गतेसम्म नेपाल बस्नेछिन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटघाट गर्नेछिन्। साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उनको छुट्टाछुटै भेटघाट गर्ने कार्यतालिका छ।
राजकुमारी एस्ट्रिड कैलाली, नवलपरासी र चितवनको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। कैलालीमा उनले क्षयरोग सेन्टरको उद्घाटन समारोहमा सहभागी जनाउनेछन् भने त्यहाँका बिरामीहरुसँग पनि भेटघाट गर्नेछिन्।
त्यस्तै नवलपरासीको मिडपोइन्ट अस्पतालमा क्षयरोग र कुष्ठरोगका बिरामीहरुलाई समेत भेट्नेछिन्। उक्त अस्पतालमा उनकै अध्यक्षता रहेको बेल्जियमको गैरसरकारी संस्था डमियन फाउन्डेसनले सहयोग गर्दै आएको छ।
ओटावा कन्भेन्सनका लागि विषेश दूतसमेत रहेकी एस्ट्रिड खानी उत्खनन् विरुद्ध अभियानमा समेत सामेल छिन्। यस भ्रमणले नेपाल र बेल्जियमबीचको दुईपक्षीय सम्बन्धमा अझ सुधार आउने परराष्ट्र मन्त्रालयले गत बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको थियो।
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments