भक्तपुर । भक्तपुरमा ३५० वर्षअघि अर्थात नेपाल सम्बत ७८७ सालभन्दा अघिबाट सुरु भएको सम्यक दान पर्व बौद्ध धर्मावलम्बीहरुले भव्य रुपमा मनाएका छन् । सम्यक दान पर्वमा पाँच दिपंकरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिहरुलाई स्थानीय थथुवहीमा विराजमान गराई भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराएर मनाइने गरिन्छ ।
चतुब्रम्ह महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेक वर्ष माघ १ गते मकर संक्रान्तिका अवसरमा मनाईने गरिन्छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुहरुलाई भोजन, अन्न, दक्षिणा दिइएको थियो ।
भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका बौद्ध धर्मावलम्बीहरुले दान गरेको सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले बताउनुभयो ।
भक्तपुरमा रहेको प्रमुख पाँच दिपंकर बुद्धको प्रतिमूर्तिहरुलाई वर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलन अन्र्तगत सम्यक दान पर्वका दिन पाँच दिपंकर बुद्धको प्रतिर्मूतिहरु विराजमान गराइएको राजुमान बज्राचार्यले बताउनुभयो ।
काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुइख्याल, ललितपुरमा ५ वर्षमा एकपटक नागबहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमित रुपमा यो पर्व मनाइने गरेको छ ।
भक्तपुरमा प्रत्येक वर्ष नःपुखु (गुह्य पोखरी) को पश्चिम थथुवहीको परिसरमा रहेको भूइख्याल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको देवचन्द्र बज्राचार्यले बताउनुभयो । यस अन्तर्गत धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने र भिक्षा दाने परम्परा रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मितिः २०७६ पौष २८ सोमबार
Comments