काठमाडौं । विश्वमा विकास सँगसँगै विनास र विकृतिहरू पनि भित्रिने गरेका छन् । विश्व एक तर्फ प्रगतिको लयमा अघि बढेको छ भने अर्को तर्फ विकृतिले समाज ओगट्दै आएको छ । एक्काइसौं शताब्दीमा लागूऔषधको दुरुपयोग विश्वब्यापी रुपमा समस्या बन्दै आएको छ । कलिला उमेरका बालबालिका देखि युवा हुँदै उमेर पुगेका पाका र अग्रजहरू समेत समाजमा हुने लागूपदार्थको शिकार हुने गरेका छन् । यसले विश्वव्यापीरुपमा समस्या र अपराधको पीडा दिएको छ ।
नेपालमा लागूऔषध दुर्व्यसनको अवस्था
नेपाल पनि लागूऔषध दुर्व्यसनबाट अछुतो रहन सकेको अवस्था छैन । नेपालमा अहिले २ लाख भन्दा बढी नेपालीहरू लागूऔषधको कूलतमा फसेका छन् ।
। ती मध्ये ८० प्रतिशत ७ कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोर किशोरी रहेका छन् । यसमा युवतीहरूको संख्या ४० हजार रहेको छ । चुरोट खैनी सुर्ती रक्सी गाँजा खानेबाट सुरु गर्दै देनद्राईद सुग्ने हुँदै लागूपदार्थ दुर्व्यसनमा फस्ने गरेको छ । यस स्थितिमा विशेष गरी लागूऔषधको गिरोहले ११, १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सरकारी अधिकारीको दावी छ । नेपालका युवाहरू, बेरोजगार, अशान्ति, द्वन्द्वले गर्दा पनि लागूपदार्थको कूलतमा फसिरहेका छन् ।
सिमानाका नजिकै लागूऔषध कारोबारमा वृद्धि
पछिल्लो समय लागूऔषध कारोबारीको संख्या निकै नै बढिरहेको छ । विशेष गरि सिमानाका नजिकै लागूऔषध कारोबार बढेको हो । भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागूऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको हो । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागूऔषध कारोवार सम्बन्धी मुद्दाले लागूऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुँदै गएको देखाएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार तीन वर्षको अवधिमा लागूऔषध कारोवार दोब्बर वृद्धि भएको छ ।
महिला र बालबालिकाको प्रयोग
लागू औषधमा संलग्न कारोवारीहरुले अहिले महिला र बालबालिकालाई प्रयोग गर्न थालेका छन् । पुरुष प्रहरीको बढी निगरानीमा पर्ने र महिला तथा बलबालिकालाई खासै चेकजाँच नगर्ने सोचका कारण कारोवारीले महिला तथा बालबालिकालाई प्रयोग गर्ने गरेका हुन् । महिला र बालबालिकालाई पैसाको प्रलोभन देखाएर लागूऔषधको कारोबारमा संलग्न गराउने गरेको विगतका मुद्धाहरुले देखाएको छ ।
लागूऔषध दुर्व्यसन गाउँमा पनि भित्रियो
अचेल लागूऔषध गाउँमा पनि पाउन थालिएको छ । झोलमा पाइने कोरेक्स, ट्याब्लेट र ब्राउनसुगर गाउँमै सहज रूपमा पाउन थालेको हो । देखासिकीमा नै गाउँका युवा र बालबालिका दुर्व्यसनमा फस्न थालेका छन् । लागूऔषध प्रयोग गर्दा अभिभावकलाई जानकारी नहुने भएकाले उनीहरू त्यसतर्फ बढी आकर्षित हुन थालेको हुन् । स्थानीयहरुका अनुसार लागूऔषधको कुलतमा गाउँका बालबालिका अत्यधिक मात्रामा फस्न थालेका छन् ।
लागूऔषध दुर्व्यसन न्यूनीकरण
लागूऔषधजस्ता गम्भीर समस्या समाधान गर्न अनुसन्धान छानविन, परीक्षण मुद्धा दायरसम्बन्धी विशेष ब्यवस्था गर्न आवश्यक छ । लागूऔषध परीक्षण गर्ने, विशेषज्ञ तयार पार्ने, लागूऔषधसम्बन्धी अपराध अनुसन्धान गर्न छुट्टै निकाय खोल्ने जस्ता उपायहरु अपनाएर लागूऔषध प्रयोगलाई न्यूनीकरण गर्न सकिन्छ ।
सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना छोराछोरीलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरुलाई समाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला संस्कृति, नृत्य, संगीत, खेलकुद आदिसम्बन्धी कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्दछ । यसरी उनीहरुका रुचीअनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले ध्यान दिन सके उनीहरुलाई लागूऔषधको लतमा पर्न बाट बचाउन सकिन्छ ।
समाजमा विद्यमान समस्याको रुपमा रहेको लागूऔषध दुर्व्यसनी तथा ओसार पसार रोक्न सरकारको नजर परिरहेको र यसलाई रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफै जागरुप हुनपर्ने छ । अहिले किशोरकिशोरीहरु लागूऔषधको लतमा फस्ने गरेको पाईएको छ । माध्यमिक र उच्च माध्यमिक विद्यालयतहका किशोरकिशोरीहरु लागू औषधको कुलतमा फस्ने गरेको पाईएको हुँदा उनीहरुको पाठ्यक्रममै लागूऔषध प्रयोगको नकारात्मक असरहरुलाई समावेश गर्न जरुरी छ ।
लागूऔषध रोक्न र नियन्त्रण गर्न बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनलाई संवेदनशील ढङ्गबाट कार्यन्वयन गर्न वा कडाइका साथ लागूगर्न नसके लागूपदार्थ र दुर्व्यसनीले ठूलो समस्या निम्त्याउन सक्छ भन्ने तर्फ समयमा नै सबैको ध्यान जानु जरुरी छ ।
प्रकाशित मितिः २०७६ कार्तिक २४ आइतबार
Comments