काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाल–चीन हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।
दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोजमा सम्बोधन गर्दै राष्ट्रपति सीले यस्तो बताएका हुन् ।
शीर्ष नेताहरुको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले सम्बोधन गरेकी भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन् ।
त्यसपछि सम्बोधन गरेका राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताए । ‘हामी चीन–नेपाल हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरू गर्नेछौं,’ आफ्नो सम्बोधन क्रममा राष्ट्रपति सीले भने, ‘काठमाडौंबाट केरुङसम्मको सुरुङ मार्ग परियोजना अगाडि बढाउन हामी सक्रिय हुनेछौं । अरनिको राजमार्गलाई विभिन्न चरणमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनेछौं ।’
दुई देशबीच बहुआयामिक ‘कनेक्टिभिटी’ सञ्जाल निर्माण गर्न बढीभन्दा बढी नाका खोलेर सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
उनले जलवायु परिवर्तनप्रति नेपाली पक्षको चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतामा नेपाल पक्षको उपयुक्त मागलाई चीनको समर्थन रहने बताए ।
राष्ट्रपति सीले आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताए । नेपाल(चीन सम्बन्धमा कुनै समस्या नरहेको, मित्रतामात्र रहेको बताउँदै उनले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताए ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुई दिने राजकीय भ्रमणमा भारतको चेन्नइबाट सिधै काठमाडौं आएका हुन् ।
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
Comments