भक्तपुर । आज बडादशैंको दशौं दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापी मनाइँदै छ ।
आश्विन शुक्ल दशमीका दिनमा आज घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १० बजेर ३५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । समितिका अनुसार विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन ।
नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।
आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा मानी लगाउने गरिन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।
प्रकाशित मितिः २०७६ असोज २१ मंगलबार
Comments