काठमाडौं । देशभरका जिल्ला प्रशासन कार्यालयमा आज पत्रकारहरुले धर्ना दिएका छन् ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाएर पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफाको खारेजी माग गर्दै नेपाल पत्रकार महासंघको आव्हानअनुसार बिहीबार देशभर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिइएको हो ।
पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम रहेको थियो ।
महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनासर्त रिहाइ तथा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा एक घण्टा धर्ना दिएको छ ।
पत्रकार महासंघ केन्द्रको आह्वानमा बिहीबार बिहान साढे ९ देखि साढे १० बजेसम्म देशभरका प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रमअनुसार भक्तपुर शाखाले पनि धर्ना दिएको हो ।
प्रकाशित मितिः२०७६ वैशाख ५ बिहीबार
Comments