काठमाडौं । कर्णाली प्रदेशका सेवाग्राहीहरुलाई अब वैदेशिक रोजगारीमा जानेको लागि श्रम स्वीकृति लिन काठ्माडौं नै धाउनु पर्ने बाध्यता आजबाट हटेको छ । आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ ।
कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । त्यसको लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ ।
सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायतका कार्य ती कार्यालयबाटै सम्पादन हुने मन्त्रालयले जनाएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरे लगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको बताए ।
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो । अब भने सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौंमा लाइन लाग्नुनपर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराउन सुरु गरेको छ ।
त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।
प्रकाशित मितिः २०७५ माघ ६ आइतबार
Comments