भक्तपुर । बलात्कार, बालिका हिंसा र दुव्यर्वहारका घटना बढ्दै गएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका बालिकाहरुलाई आत्मरक्षा सीप प्रदान गरेको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा सुर्यविनायक नगरस्तरिय बाल कल्याण समिति, युवाका साथ साथ आवाज नेपाल, युवालय र ओरेक नेपालले मंगलबार र बुधबार दुईदिने बालिका सम्मेलनको आयोजना गरि आत्मरक्षा सम्बन्धी सीप प्रदान गरिएको हो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर क्षेत्रमा बालिका तथा किशोरीलाई हिंसाबाट जोगाउन र हिंसारहित नगर बनाउने लक्ष्यका साथ आत्मरक्षाको सीप प्रदान गरेको बताएका छन् ।
प्रमुख थापाले नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर १८ लाखको बजेट समेत विनियोजन गरेकाले बालिकाहरुको हकहितमा नगरपालिका सक्रिय भएर कार्य गर्ने बताए ।
नगरपालिकाले आफ्नो १० वटै वडाका ११ देखि १९ बर्ष उमेर समूहका बालिकाहरुको सहभागितामा आत्मरक्षा सीप प्रदान गरि वडाका अन्य बालिकाहरुलाई पनि त्यो सीप र अनुभव प्रदान गर्ने र नगर क्षेत्रमा बालिका तथा किशोरी हिंसा अत्य गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको अवस्थामा सरकारले महिला, बालबालिकाको क्षेत्रमा संवेदनशिल भएर काम गर्नुपर्नेमा जोड दिए ।
गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) ले सम्मेलनले घोषणापत्र समेत जारी गरेकाले त्यसका प्रभावकारी कार्यान्वयन हुन सके बालिका यौन हिंसा न्युनिकरण र अन्त्य हुनसक्ने बताए ।
उपप्रमुख जुना बस्नेत, नगर बाल कल्याण समितिका सचिव दिपेश विशुंके, युवाका साथ साथ आवाज नेपालका अध्यक्ष राजेश घिमिरे, सचिव श्रीकृष्णजंग थापालगायतले बालिका सक्षम हुन सकेमात्र मुलुक समृद्ध हुन सक्ने बताए ।
प्रकाशित मितिः २०७५ मंसिर २० बिहिबार
Comments