भक्तपुर । भक्तपुरमा बुधबारदेखि ५ दिने आधारभूत अग्नी नियन्त्रण तालिम सुरु भएको छ ।
विभिन्न जिल्लाका अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधिसहितको प्रशिक्षक प्रशिक्षण तालिम भक्तपुरमा सुरु भएको हो ।
जुद्ध वारुण यन्त्र भक्तपुर र नागरिक उड्डयन प्राधिकरण सानोठिमीको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।
बेल्जियमबाट आएको ‘फायर फाइटर फर नेपाल’ को १५ जना विशेषज्ञ टोलीले पाँचदिनसम्म नेपालका ७० जनालाई तीन प्रकारको तालिम दिने जुद्ध वारुण यन्त्र भक्तपुरले जनाएको छ ।
तालिममा ८ जनालाई पहिलो तहको प्रशिक्षक प्रशिक्षण तालिम दिएर नेपालका लागि प्रशिक्षक बनाउने, अग्नि नियन्त्रण गर्न जाँदा आगोबाट जोगिएर श्वास प्रश्वास कसरी लिने भन्नेबारेमा १२ जनालाई प्रशिक्षक तालिम र अन्यलाई अग्नि नियन्त्रणसम्बन्धी उच्च प्रकारको तालिम दिइने छ ।
तालिममा भक्तपुर, ललितपुर, भैरहवा, बुटवल, वीरगञ्ज, बाग्लुङ्गका वारुण यन्त्रका कर्मचारी र गोरखा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापनका प्रहरीहरुको सहभागिता रहेको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २८ बुधबार
Comments