भक्तपुर । दशै तिहार सकिय लगतै छठ पर्वको रौनक सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजबाट सुरु भएको हो। मुख्य विधि अन्तर्गत पहिलो दिन आज अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। छठ पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ। सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो।
छठमा व्रत बस्नेले आजबाट भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मुसुरोलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्दछन्।मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो। विसं २०४६ देखि नै सरकारले यस पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा सार्वजनिक बिदा दिंदै आएको छ।
षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ। साँझपख बत्ती बालेर माटाको घडाको साथ नदी वा तलाउका किनारमा बसेर गीत गइने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ। अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारेर मनोरञ्जनका साथ त्यही रात बिताइन्छ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ। उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो। सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ।
कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा एवं आराधना गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको छ । ुविशेषगरी तराई क्षेत्रका मानिसले मनाउने भएकाले यसलाई क्षेत्रीय पर्व भनिएको हुनसक्छ, तर यो सूर्यको उपासना गर्ने शास्त्रीय पर्व भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार
Comments