नवलपरासी । बिहेको प्रस्ताव अस्वीकार गरेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार भएको छ । नवलपरासीको कावासोती नपा–१६, हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै महिलामाथि यस्तो आक्रमण गरेका हुन् ।
छुरा हान्ने स्थानीय ३६ वर्षीय खले बिक भन्ने विमल श्रीपाली हुन् । उनले गाउँकै ३० वर्षीया बसन्ती परियारलाई बिहे गर्न नमानेको झोंकमा छुरा हानेका हुन् । बिहेको प्रस्ताव पुरुष र अस्वीकार गर्ने महिला दुवै विवाहित हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएअनुसार विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेका थिए ।
एसिड छ्यापेपछि उनले पटक–पटक छुरा प्रहरा गरेको प्रहरीले जनाएको छ । हाल बसन्तीको अवस्था गम्भीर रहेको र उनको चितवनको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरीले बताएको छ । छुरा हान्ने विमल श्रीपालीले आफ्नो अपराध कबुल गरेकाले उनलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments